मोरङ — नेवा: देय् दबु मोरङ जिल्ला समितिको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम नेपाल संवत् ११४६ सिल्लाथ्व: दशमी अर्थात् २०८२ माघ १४ गते बुधबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम नेवा: देय् दबु लेटाङ नगर समितिको कार्यालय प्राङ्गणमा आयोजना गरिएको थियो।

कार्यक्रम मोरङ जिल्ला अध्यक्ष थर्कमान श्रेष्ठको अध्यक्षता तथा नेवा: देय् दबु केन्द्रीय उपाध्यक्ष अनिल मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य बिमला श्रेष्ठ तथा सल्लाहकार देवेन्द्र कुमार मास्के, रविन्द्र कृष्ण श्रेष्ठलगायत विभिन्न समिति तथा उपसमितिका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव नवीन श्रेष्ठले गर्नुभएको थियो।

साधारण सभामा गत कार्यकालमा सम्पन्न गतिविधिहरूको समीक्षा गरिनुका साथै संगठन विस्तार, भाषा–संस्कृति संरक्षण, सामाजिक कार्य, तालिम तथा सम्मान कार्यक्रमसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आगामी दिनमा नेवा समुदायको पहिचान, एकता र सक्रियतालाई थप मजबुत बनाउने निर्णयहरू समेत गरिएको छ।

सम्मान कार्यक्रमअन्तर्गत मोरङ जिल्लाका १७ पालिकामध्ये लेटाङ नगरपालिकाकेराबारी गाउँपालिकालाई उत्कृष्ट पालिका घोषणा गर्दै सम्मान गरिएको थियो। यसका साथै संस्थालाई सहयोग गर्ने विभिन्न संघ–संस्था तथा व्यक्तिहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।