संखुवासभा | संखुवासभाको पाँचखपन नगरपालिका–६ वाना भाङ्गटारमा स्थापना गरिएको सिद्धदेवी पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ।

वि.सं. २०७९ फागुन २१ गते पण्डित खेमनाथ दाहालको नेतृत्वमा वैदिक विधिअनुसार देवीको प्राणप्रतिष्ठा गरी मन्दिरको औपचारिक स्थापना गरिएको हो। सो अवसरमा सिद्धदेवी पाथीभरा माता र सिद्धेश्वर महादेवका मन्दिरहरू समेत निर्माण गरिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर पुरीका अनुसार मन्दिर स्थापना पछि धार्मिक आस्थाका कारण पाँचखपन नगरपालिका भित्र तथा बाहिरबाट भक्तजनहरूको आवागमन बढ्दै गएको छ । 

संखुवासभाको विच भेगमा पाथीभरा मन्दिर भएकाले यसको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय सरकारले बजेट छुट्याएर काम अघि बढाएको र थप प्रदेश सरकारबाट अपेक्षा गरिएको वडा नं. ६ का अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिर निर्माण तथा विकासमा स्थानीय बासिन्दासँगै कोशी प्रदेशका विभिन्न स्थानका भक्तजनहरूको सहयोग रहेको छ । मन्दिरमा दैनिक पूजाआजा सञ्चालन हुँदै आएको छ ।

मन्दिर नजिकै निमन गढी नामक रमणीय पर्यटकीय स्थल पनि रहेको छ । यहाँबाट पाँचखपनको वाना, बिहीबारे लगायत संखुवासभाका विभिन्न भू–भाग अवलोकन गर्न सकिन्छ ।

मन्दिर पुग्न पाँचखपन नगरपालिकाको वाना तथा बिहीबारे हुँदै सडक यात्रा पछि छोटो पैदल मार्ग प्रयोग गर्न सकिन्छ । मन्दिर परिसरमा खानेपानीको सुविधा समेत उपलब्ध छ ।

स्थानीयवासीहरूले मन्दिरलाई थप व्यवस्थित धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान आवश्यक रहेको बताएका छन् ।

मन्दिर परिसर नजिकै वि.सं. २०८१ वैशाख १५ गते भाङ्गटार निवासी देवराज पुरीले आफ्ना स्वर्गीय हजुरबुबा लिलानाथ पुरी र हजुरआमा धनमाया पुरीको स्मृतिमा धर्मशाला निर्माण गरेका छन् । यसले तीर्थालु तथा पर्यटकहरूलाई सहज आवासको सुविधा प्रदान गरेको छ ।