इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिदहरूको बलिदानको जगमा उभिएको लोकतान्त्रिक व्यवस्था नाराले होइन, सचेत नागरिकको धैर्य, विवेक र इमान्दारिताले जोगिने बताउनुभएको छ ।

माघ १६ गते (शुक्रबार) सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापनाका लागि योगदान दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । जहानियाँ राणा शासनविरुद्ध चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले २००७ सालदेखि २०४६ सालको जनआन्दोलन र २०६२र६३ को ऐतिहासिक आन्दोलनसम्म सहिदहरूको प्रेरणा निरन्तर जीवित रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले वर्तमान सन्दर्भमा मुलुक गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै पपुलिजमको नाममा यथार्थ लुकाउने र तथ्यलाई ओझेलमा पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उत्तेजनाबाट होइन संयम, धैर्य र विवेकपूर्ण ढङ्गले जोगाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले संविधानको जगमा उभिएर कमजोरी सच्याउँदै सहिदले देखाएको बाटो र सपना साकार पार्नु आजको आवश्यकता भएको बताउनुभयो । प्रदेश सरकार सङ्घीयताको सही कार्यान्वयन, जनताको सेवा र समृद्धिको लक्ष्यबाट विचलित नहुने अठोटमा दृढ रहेको उल्लेख गर्दै उहाँले सङ्घीयता कमजोर होइन, सुधार गर्दै सुदृढ बनाउने दायित्व सबैको भएको स्पष्ट पार्नुभएको छ ।