इटहरी ।  पछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ ।

घिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव पनि हुन थालेको छ । एक महिनाअघिसम्म बजारमा ५८० रुपियाँदेखि ५३० रुपियाँ प्रतिकिलोसम्म पाइने घिउको मूल्य अहिले प्रतिकिलो सात सयदेखि ७३० रुपियाँ पुगेको छ । अहिले बजारमा माग धेरै भए पनि गाउँबाट आउने घिउ सोझै बाहिरी बजारमा जाने गरेकाले बजारमा घिउ पाइन छाडेको इलाम चोक बजारमा घिउ तथा छुर्पी व्यापार गर्दै आएकी मन्दिरा घिमिरे बताउनुहुन्छ । गत वर्षभन्दा यो वर्ष घिउको माग बढी रहेको सन्दकपुर गाउँपालिका–३ का डेरी सञ्चालक खडानन्द ढकालले बताउनुभयो । ढकालले महिनामा तीन मनसम्म घिउ उत्पादन र निकासी हुने गरेको बताउनुभयो । ढकालले इलाममा उत्पादित घिउ प्रायः बाहिरी बजारमै जाने गरेको बताउनुभयो ।

इलामबाट झापाका बिर्तामोड, विराटनगर, काठमाडौँ, पोखरासम्मका बजार जाने गरेको बताउनुभयो । इलामकै माईजोगमाई गाउँपालिका–३, नामसालिङका डेरी उद्योग सञ्चालक राजु घिमिरे पनि यस वर्ष घिउको माग धेरै रहेको बताउनुहुन्छ । दुई हजार किलो घिउ उत्पादन र बिक्री हुने गरेको घिमिरेले बताउनुभयो । इलाम बजार, फिक्कल, मङ्गलबारे, नयाँ बजार, हर्कटेलगायतका इलामका बजारमा नौनी अभाव रहेको उपभोक्ताले बताएका छन् । जिल्लामा एक सयभन्दा बढी डेरी उद्योग सञ्चालनमा रहे पनि घिउको उत्पादन कति हुन्छ भन्ने ठ्याक्कै तथ्याङ्क भने पाइँदैन । जिल्लास्थित भेटेरिनरी तथा पशुविज्ञ कार्यालय रहे पनि घिउको छुट्टै तथ्याङ्क भने नभएको कार्यालयका कर्मचारी नवीन वैद्यले बताउनुभयो ।