इटहरी, सुनसरी । तालतलैया कला साहित्य सांस्कृतिक समाजको आयोजनामा तालतलैया क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनलाई लक्ष्य गर्दै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम बारे जानकारी गराउन इटहरी माइतीघर क्याफेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

२०७५ सालमा दर्ता भई निरन्तर सामाजिक, सांस्कृतिक र पर्यावरणीय अभियान सञ्चालन गर्दै आएको समाजले “स्वस्थ शरीर, स्वच्छ वातावरण, सांस्कृतिक पदयात्रामार्फत सामाजिक जागरण” भन्ने नारासहित कार्यक्रम गर्न लागेको हो। देश निर्वाचनको तयारीमा रहेका बेला पनि कार्यक्रम विशुद्ध सामाजिक र पर्यावरणीय उद्देश्यमा केन्द्रित रहने कार्यक्रम संयोजक सुधीर केसीले बताउनुभयो।

कार्यक्रम अन्तर्गत माघ १९ गते सोमबार बिहान ७ बजे इटहरी–२० तरहरा चोकबाट पदयात्रा सुरु भई वडा नम्बर २ स्थित शान्तिनगर पुग्नेछ। त्यहाँ स्थानीय स्तरका शुभकामना मन्तव्य तथा कविता वाचन कार्यक्रम हुनेछ। त्यसपछि तालतलैया पुगेर संस्थाको तर्फबाट स्वागत तथा खाजाको व्यवस्था गरिने छ।

त्यसैगरी, दिउँसो याक्दुङ चोक हुँदै बुढिखोला पुलमा कविता, गीत तथा गजल वाचन कार्यक्रम आयोजना गरिने छ। कार्यक्रमको अन्तिम चरणमा हिस्सा सिमसार पर्यटकीय क्षेत्रमा स्वागतसहित विविध सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ।

कार्यक्रममा लेखक, कलाकार, खेलाडी, बुद्धिजीवी, पर्यटन व्यवसायी, टोल विकास संस्था तथा विभिन्न संघ–संस्थाको सहभागिता रहनेछ। निर्वाचनपछि यस्तै प्रकृतिका अन्य कार्यक्रम तथा सहभागी संस्थाहरूलाई सम्मान गर्ने योजना पनि रहेको आयोजकले जनाएको छ।

इटहरी उपमहानगरपालिकाका सम्बन्धित वडा कार्यालयहरूको सहयोग रहने र सुरक्षा निकायबाट सुरक्षा व्यवस्थापन हुने विश्वास आयोजकले व्यक्त गरेको छ। साथै सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने भएकाले लेखन, विमर्श तथा समाचारमार्फत प्रचार–प्रसार र सहभागिताका लागि आग्रह गरिएको छ।

कला र साहित्यमार्फत स्थानीय प्रतिभा उजागर गर्दै तालतलैया क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तालतलैया कला साहित्य सांस्कृतिक समाज उपाध्यक्ष प्रमोद पौडेलले बताउनुभयो ।