इटहरी । झापा क्षेत्र नं। ५ अहिले सबैको ध्यान केन्द्रित भएको निर्वाचन क्षेत्रका रूपमा रहेको छ । यसभन्दा अघि तालमेल तथा गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा यहाँ उम्मेदवार बन्ने गरिएको भए तापनि यो पटक कसैको कोहीसँग तालमेल तथा गठबन्धन छैन । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं। ५ र ३ मा लागू हुने गरी नेकपा ९एमाले० र राप्रपाबिच तालमेल रहेको थियो । यो क्षेत्रमा तत्कालीन अवस्थामा सत्ता गठबन्धनका रूपमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबिच तालमेल रहेको थियो । निर्वाचन नजिकिँदै जाँदा शीर्ष नेताहरूबिच तालमेल हुने हल्लाका कारण मतदाता अन्योलमा रहेका छन् । तर स्थानीय राजनीतिक दल तथा केन्द्रीय नेताहरूले समेत तालमेल नभएको र हुन सक्ने सम्भावना कम रहेको बताउँदै आएका छन् । मतदातामाझ गइरहँदा तालमेलको विषयमा मतदाताले प्रश्न गर्न थालेको उम्मेदवारले पनि बताउन थालेका छन् । नेकपा ९एमाले० का नेता एवं झापा क्षेत्र नं। ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अहिले एमाले एक्लै चुनावी मैदानमा रहेको बताउनुभएको छ । नेकपा उम्मेदवार रञ्जित तामाङले निर्वाचनमा तालमेलको विषय बेमौसमी बाजा भएको बताउनुभयो । अहिले यो सम्भावना नदेखेको बताउनुभयो । अनावश्यक रूपमा हल्ला फैलाइएको उहाँको भनाइ छ । राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले झापा–५ मा एमालेसँग तालमेल भयो भनेर हल्ला फिँजिएको भए पनि यसमा सत्यता नरहेको बताउनुभयो । अहिले आफूहरू निर्वाचन अभियानमा केन्द्रित रहेर मतदातासम्म मत मागिरहेको उहाँको भनाइ छ । यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको प्रतिस्पर्धालाई लिएर अहिले चर्चामा छ ।