इटहरी । शिक्षा क्षेत्र समाजको मेरुदण्ड हो र त्यही मेरुदण्डलाई सबल बनाउने शिक्षक, कर्मचारी तथा विद्यालय सञ्चालकहरूको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल कोशी प्रदेश (नेसनल प्याब्सन) र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडबीच सहुलियत उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । २०८२ माघ २० गते सम्पन्न उक्त सम्झौताले कोशी प्रदेशभरका निजी विद्यालयमा कार्यरत हजारौँ शिक्षक, कर्मचारी र विद्यालय सञ्चालकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुने भरोसा दिलाएको छ ।

सम्झौताअनुसार नेसनल प्याब्सन कोशी प्रदेशमा आबद्ध सदस्य विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक तथा कर्मचारीहरूले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गर्दा ओ.पि.डी. दर्ता तथा परामर्श सेवा निःशुल्क, अस्पताल सेवामा १५ प्रतिशत र दन्तरोगसम्बन्धी सेवामा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापछि बोल्दै नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले शिक्षा क्षेत्रका जनशक्तिको स्वास्थ्य सुरक्षालाई संस्थाको प्राथमिकतामा राखिएको बताउनुभयो ।  यस सम्झौताले शिक्षक तथा कर्मचारीका आश्रित परिवार—श्रीमान्, श्रीमती, आमा, बाबु तथा १८ वर्ष मुनिका अविवाहित छोराछोरी—लाई समेत सहुलियत उपचारको सुविधा दिने व्यवस्था गरेको छ ।

अस्पताल पक्षका तर्फबाट प्रतिक्रिया दिँदै नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका महाप्रबन्धक विपेश राईले सामाजिक उत्तरदायित्व निर्वाह गर्नु संस्थाको मूल उद्देश्य भएको उल्लेख गर्नुभयो । सम्झौतामा आईभीएफ, क्याबिन, प्लास्टिक तथा कस्मेटिक सर्जरी, साथै औषधि र चिकित्सालय सामग्रीमा छुट नलाग्ने स्पष्ट गरिएको छ । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम तथा विपन्न नागरिक औषधि उपचार कोषलगायतका सेवा पूर्ण रूपमा उपयोग गरिसकेपछि मात्र यस सम्झौताअनुसारको सहुलियत लागू हुने जनाइएको छ । यो सम्झौता २०८२ माघ २० गतेदेखि २०८३ असार मसान्तसम्म लागू रहनेछ ।

सम्झौतापत्रमा नेसनल प्याब्सन कोशी प्रदेशका तर्फबाट कार्यवाहक अध्यक्ष कमल खनाल र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट महाप्रबन्धक विपेश राईले हस्ताक्षर गर्नुभएको छ । साथै सहुलियत उपचार सम्बन्धी सम्झौता कार्यक्रममा नेसनल प्याब्सन कोशी प्रदेश सदस्य सुरेन्द्र चौधरी,नेसनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसी, केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल र जनसम्पर्क अधिकृत नविन दाहाल लगायत नेसनल प्याब्सनका अन्य पदाअधिकारीको उपस्थिति रहेको थियो ।