इटहरी ।   इलाम क्षेत्र नं। २ मा चुनावी गतिविधि निकै बढेको छ ।

चुनावी मैदानमा रहेका यस क्षेत्रका १४ जना उम्मेदवार आआफ्नै ढङ्गले मतदाताको घर घर पुगिरहेका छन् । संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नं। २ मा पछिल्लो समय सुहाङ नेम्वाङको लोकप्रियता बढेको छ । २०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गरेर विजयी भएका सुहाङ अबको निर्वाचनमा पनि यही क्षेत्रमा नेकपा (एमालेर्) बाट उम्मेदवार बन्नुभएको छ । नम्र स्वभाव, मिलनसार र शालीन व्यक्तित्वका सुहाङलाई यहाँका मतदाताले प्रिय मान्दै आएका छन् । उहाँ आफ्नो १६ महिनाको संसदीय अभ्यासमा आफूले गरेका काम र जिल्लाका लागि गरेको कामले पनि आफूलाई यस पटक पनि यहाँको मतदाताको साथ र सहयोग मिल्ने दाबी गर्नुहुन्छ ।  गएको असोज १८ गतेको बाढीपहिरो र विपत्पछि जिल्लाका सबै पीडितलाई घरघरै भेट्न पुगेका सुहाङलाई उनीहरूको पनि सहानुभूति रहेको देखिन्छ ।

सुहाङका पिता सुवाससँग पटक पटक हार बेहोरेका नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य यस पटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०४८ पछिका हरेक निर्वाचनमा इलाम–२ मा दोस्रो बन्दै आएको नेपाली कांग्रेसका आचार्य पार्टी नेतृत्व नै बदलिएको सन्दर्भमा यस पटक नतिजा आफ्नो पक्षमा आउने विश्वासमा हुनुहुन्छ । लामो समयदेखि इलाम–२ को सामाजिक र राजनीतिक क्षेत्रमा योगदान गरेको बताउने आचार्य यस पटक सजिलै आफ्नो जित हुने दाबी गर्नुहुन्छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ मा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले यस क्षेत्रबाट ३० हजार २० मत प्राप्त गरी विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको थियो । त्यसअघि २०७४ को संविधान सभा निर्वाचनमा पनि नेम्वाङले कांग्रेस उम्मेदवार भेषराज आचार्यलाई पराजित गर्नुभएको थियो ।

निकै अनुभवी र खारिएका नेता आचार्य विगतको झिनो मतान्तरलाई यस पटक हटाएर आफू विजयी हुनेमा विश्वस्त हुुनुहुन्छ । यस क्षेत्रमा एक लाख १९ हजार ४८९ मतदाता रहेका छन् । स्थानीय पालिका र अघिल्ला निर्वाचनको मतपरिणाम हेर्दा पनि अन्य दल र नयाँ उम्मेदवारको जनमत बुझ्दा यस पटक पनि एमाले–कांग्रेसकै बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको इलाम देउरालीका दिनेश सुवेदी बताउनुहुन्छ । संविधान सभा अध्यक्ष तथा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनपछि भएको २०८१ को उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ प्राप्त गर्नुभएको थियो । सो निर्वाचनमा एमालेका सुहाङको मतान्तर पाँच हजार ७८० मत थियो । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो स्थानमा रहनुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू पाँच हजार ५० मत प्राप्त गरेर चौथो बन्नुभएको थियो ।