इटहरी । भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न दोस्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाली महिला टोली उपविजेता बन्न सफल भएको छ भने पुरुष टोलीले चौथो स्थान हासिल गरेको छ । माघ १८ देखि सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो।

विश्वकपमा भारत, क्यानडा, नेपाल, श्रीलंका, सुडान, म्यानमार, न्यूजिल्याण्ड लगायतका देशहरू सहभागी थिए । कडा प्रतिस्पर्धाबीच नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा उजागर गरेका छन् । नेपाली महिला टोलीले प्रतियोगिताको सुरुदेखि नै सन्तुलित, अनुशासित र आत्मविश्वासपूर्ण खेल प्रदर्शन गर्दै फाइनल सम्मको यात्रा तय गरेको थियो । फाइनल खेलमा आयोजक भारतसँग कडा प्रतिस्पर्धा गर्दै दबाबमा राखे पनि अन्ततः पराजय व्यहोर्नुप¥यो । यद्यपि फाइनलमा पुग्दै उपविजेता बन्नु नेपाली महिला टोलीका लागि ठूलो उपलब्धिका रूपमा लिइएको छ ।

यसैगरी पुरुष टोलीले पनि बलिया प्रतिस्पर्धी राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन ग¥यो। विशेषगरी  खेलमा नेपाली टोलीले कडा टक्कर दिँदै अन्तिम समय सम्म दबाबमा राखेको थियो । तर पुरुष टोलीले चौथो स्थानमै चित्त बुझाउनुप¥यो। यसअघि सम्पन्न पहिलो सुटिङ बल विश्वकपमा पनि नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो। पहिलो संस्करणमा नेपाली महिला टोली उपविजेता बनेको थियो भने पुरुष टोली तेस्रो स्थानमा रहँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको सुटिङ बल खेलको पहिचान स्थापित गरेको थियो। लगातार दुई विश्वकपमा महिला टोलीले उपविजेता स्थान सुरक्षित गर्नु नेपाली सुटिङ बलको निरन्तर प्रगतिका रूपमा हेरिएको छ ।

सीमित स्रोत, अभ्यास सामग्री र पूर्वाधारको अभावका बाबजुद पनि सुटिङ बल एसोसिएसन नेपालका उपाध्यक्ष कैलास बिस्टको नेतृत्वमा सहभागी भएको ३५ सदस्यीय नेपाली टोलीले देखाएको प्रदर्शनले खेलकुद क्षेत्रका सरोकारवालाहरू उत्साहित बनेका छन् । यसैगरी एसिएन सुटिङ बल एसोसिएसनका उपाध्यक्ष केशब बिस्टका अनुसार यो उपलब्धिले नेपालमा सुटिङ बल खेलको विकास, युवा खेलाडीहरूको प्रेरणा र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता विस्तारका लागि नयाँ अवसरको ढोका खोल्ने विश्वास व्यक्त गरिएको छ । दोस्रो सुटिङ बल विश्वकपको आयोजना शुटिङ बल फेडेरेसन अफ इन्डियाले गरेको हो।

आयोजकका अनुसार प्रतियोगिताले विभिन्न देशका खेलाडीबीच अनुभव आदान–प्रदान, खेलकुद मैत्री सम्बन्ध र खेलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ। भारतसँगको कडा प्रतिस्पर्धामा नेपाली टोलीले देखाएको आत्मविश्वास र खेल भावना नेपाली सुटिङ बल खेलको भविष्य उज्यालो रहेको संकेतका रूपमा हेरिएको छ ।