इटहरी । विराटनगरका लागि आइक्योर सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आइक्योर भी २३ आधिकारिक रूपमा विराटनगर बजारमा सार्वजनिक गरेको छ ।
विराटनगरस्थित ओमोडा एण्ड जेइको शोरुममा एक विशेष समारोहका कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनावरण गर्र्नुभएको थियो । बोर्न टु प्ले भन्ने ट्यागलाइन अन्तर्गत डिजाइन गरिएको एसयूभी आइक्योर भी २३ एक रेट्रो–प्रेरित, पूर्ण–विद्युतीय अफ– रोड एसयूभी हो, जसले क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट मिश्रण प्रदान गर्दछ ।
४९ लाख ९९ हजार रुपैयाँको मूल्यमा उपलब्ध यो भी २३ लाई परम्परागत पेट्रोल गाडीहरूको एक दिगो र स्टाइलिश विकल्पको रूपमा प्रस्तुत गरिएको छ । यसमा ५९.९३ किलोवाट एलएफपी ब्याट्री र १०० किलोवाटको मोटर रहेको छ, जसले एक पटकको फुल चार्जमा ४ सय १ किलोमिटर सिएलटिसी सम्मको रेन्ज प्रदान गर्दछ । क्लासिक गोलो हेडलाइट र २१० एमएम को ग्राउन्ड क्लियरेन्स सहितको आकर्षक “बक्सी“ डिजाइनले यसलाई शहर र अफ–रोड दुवैका लागि उपयुक्त बनाउँछ ।
प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएका आइक्योर भी २३ को डेलिभरी, प्रि– बुकिङ गरेका ग्राहकहरूका लागि नेपालभर रहेको आधिकारिक डिलर नेटवर्क मार्फत तत्काल सुरु गरिने शाखा प्रमुख अमित अग्रवालले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाली बजारमा ग्राहकको विश्वास जित्दै आएको भन्दै आगामी दिनमा यसको लोकप्रियता अझ बढ्ने अपेक्षा व्यक्त गर्नुभयो।
पायोनियर मोटो कर्प प्रा. लि.को शाखा इटहरीमा सञ्चालनमा आउने भएको छ । कार्यक्रममा शारडा ग्रुप का निर्देशक प्रदीप शारडा, एसपिजी अटोमोबाइल्सका सहायक महाप्रबन्धक आशिष दाहाल, ग्राहकहरू तथा अटोमोबाइल क्षेत्रका उत्साहजनक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


