सुनसरी | सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी यमुना के.सी. को परिचय र उहाँले किन सुनसरीबाट उम्मेदवारी दिनुभयो भन्ने विषय यतिबेला जनचासोको केन्द्रमा परेको छ।

रोल्पामा जन्मिएर हुर्किएकी यमुना के.सी. विगत झण्डै दुई दशकदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ। रोल्पा जस्तो विकट भूभागमा बाल्यकाल बिताएकी उहाँले समाजका दुःखी, पीडित तथा पछाडि पारिएका वर्गको वास्तविक अवस्था नजिकबाट बुझ्दै सामाजिक सेवाको यात्रा सुरु गर्नुभएको हो।

सामाजिक सेवाबाट स्थापित पहिचान

रोल्पाली चेली फाउन्डेसनकी अध्यक्षसमेत रहनुभएकी के.सी. ले स्वास्थ्य, शिक्षा, खानेपानी र मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले उहाँले काठमाडौंबाट चिकित्सक टोली लिएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको छ।

विशेषगरी ॐ समाज डेण्टल अस्पतालसँगको सहकार्यमा १९० पटकभन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गरी हजारौँ नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँ सफल हुनुभएको छ।

वृद्धाश्रमदेखि बालआश्रमसम्म योगदान

स्वास्थ्य सेवासँगै सामाजिक संरचना निर्माणमा पनि उहाँको भूमिका उल्लेखनीय रहेको छ। रोल्पामा वृद्ध–वृद्धाका लागि वृद्धाश्रम, दाङमा असहाय तथा बेसहारा बालबालिकाका लागि बालआश्रम स्थापना गर्नुका साथै मठ–मन्दिर, पाटी–पौवा, तटबन्ध निर्माण तथा वृद्धाश्रमहरूमा नगद र खाद्यान्न सहयोग गर्दै आउनुभएको छ।

सप्तरी र रामेछापमा मन्दिर निर्माण तथा संरक्षणमा पनि उहाँको सक्रिय सहभागिता रहेको छ।

योजना र सहकार्यमा आधारित सेवा यात्रा

भावनाभन्दा योजनामा विश्वास गर्ने अभियन्ताका रूपमा परिचित यमुना के.सी. ले कुनै पनि अभियान अघि बढाउनु अघि सरोकारवालासँग परामर्श गर्दै आएको बताइन्छ। करिब १५ वर्षदेखि अभियन्ता राजन थापासँग सहकार्य गर्दै सामाजिक अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ। यिनै योगदानको कदरस्वरूप उहाँले देशका विभिन्न स्थानबाट सयौँ सम्मान तथा कदरपत्र प्राप्त गरिसक्नुभएको छ।

किन सुनसरीबाट उम्मेदवारी ?

दीर्घकालीन सामाजिक सेवाको अनुभवलाई नीति निर्माण तहमा पुर्‍याउने उद्देश्यसहित यमुना के.सी. हाल सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको हो। उहाँको चुनाव चिह्न ‘मुसा’ रहेको छ।

यसै क्रममा एक वृद्ध आमाले “तपाईं त काठमाडौंमै बसेर राजनीति गर्न सक्नुहुन्थ्यो, किन सुनसरी ?” भनी सोधेको प्रश्नको जवाफ अहिले जनस्तरमा चर्चाको विषय बनेको छ।

यमुना के.सी. भन्नुहुन्छ—

“काठमाडौंमा धेरै विकास भइसकेको छ, तर सुनसरीमा विकास गर्न अझै धेरै बाँकी छ। जहाँ आवश्यकता बढी छ, त्यहीँबाट म आफ्नो जिम्मेवारी सुरु गर्न चाहन्छु। मैले राजनीति सेवाका लागि रोजेकी हुँ, पदका लागि होइन।”

सेवाबाट राजनीतिमा प्रवेश गरेकी यमुना के.सी. को उम्मेदवारीले सुनसरी क्षेत्र नं. ४ मा स्वतन्त्र, सेवामूलक र वैकल्पिक राजनीतिक बहसलाई थप बल दिएको स्थानीयहरू बताउँछन्।