इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै उदयपुरको निर्वाचन क्षेत्र नं। २ मा पनि चुनावी गतिविधि बढेको छ ।

९६ हजार १२२ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १३ जना उम्मेदवार घरदैलो अभियानमा व्यस्त हुन थालेका छन् । सबै उम्मेदवार वडा वडामा पार्टीका चुनावी सम्पर्क कार्यालय स्थापना गर्दै आआफ्नो चुनाव चिह्नसहित मतदाताको घर घरमा पुगेर भोट माग्दै हिँड्न थालेका छन् । निर्वाचन क्षेत्रको केन्द्र रहेको कटारी बजारमा सबै राजनीतिक दलले क्षेत्रीयस्तरको निर्वाचन सम्पर्क कार्यालय खोलेर त्यहीँबाट चुनावी गतिविधि अगाडि बढाइरहेका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) एमालेले जितेको यस क्षेत्रमा यस पटकको चुनावको नतिजा कसको पक्षमा जाने हो अहिले नै यकिन गर्न कठिन छ ।

अघिल्लो पटक एमालेबाट उम्मेदवार हुनुभएका अमरबहादुर रायमाझी यो पटक पनि साही पार्टीबाट उम्मेदवार बन्नुभएको छ । रायमाझीसँग नेपाली कांग्रेसका रामकुमार राई, नेपाली कम्युनिस्ट पार्टीका सुरेशकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्य लामा प्रतिस्पर्धा हुनुहुन्छ ।  नेपाली कांग्रेसका रामकुमार राई अघिल्लो निर्वाचनमा कांग्रेस र वाम गठबन्धनका साझा उम्मेदवार जगन्नाथ खतिवडाविरुद्ध स्वतन्त्र उम्मेदवार हुँदा  १० हजार ३७९ मत ल्याउन सफल हुनुभएको थियो भने सुरेश राई २०७४ को निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यस क्षेत्रमा रास्वपाले पनि चुनावी अभियान तीव्र पारेको छ । रास्वपाका अध्यक्ष चित्रकुमार कार्कीले जेनजी आन्दोलनपछि नयाँ शक्तिको जन्म भएको र त्यसको नेतृत्व रास्वपाले गरेकोले आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा हुने दाबी गर्नुभयो ।