इटहरी । भोजपुरको पर्यटकीय क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरीलाई संरक्षण गरिएको छ । विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएको छ ।
पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना बनाइएको छ । पोखरीको बिचमा रहेको खम्बा माथि एउटा त्रिशूल समेत रहेको थियोे अहिले त्यो त्रिसुल देख्न पाइदैनन । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको छ । यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको थियो ।
बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय माइकल राइले बताउनुभयो । यो पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको छ । पोखरी हराबरा बनाउने काम स्थानीय सरकाले गर्दै आएको छ । पोखरीको जीर्णउद्धार गरी पोखरी नजिकै सांस्कृतिक भवन बौद्ध स्तुम्पा , ढुङ्गे बगैंचालाई संरक्षण गरेर मुन्दुम पदमार्ग सँग जोड्ने उदेश्य रहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । पोखरीमा पाँच वटा ढुङ्गे धारा समेत निर्माण गरिएको छ ।
पोखरीको अगाडि मानिसलाई बस्नका लागि प्रतिक्षालय समेत बनाइएको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माण गरिएको हो । पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको छ । नेपाल सरकारको एक सय घुम्नैपर्ने गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकामा रहेकाले यसले पनि पर्यटकको आवागमनमा थप टेवा पुगेको छ ।


