इटहरी । मोरङको केराबारी गाउँपालिकामा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको नागरिक आरोग्य केन्द्र कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा आएको छ।

गाउँपालिका अध्यक्ष सुमन मेरिन्चिङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उहाँले नागरिकको जीवनशैली सुधार र रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि आरोग्य केन्द्र महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनमाया मगर, प्रवक्ता नारायण भुजेल, मोरङ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा। राम अभूत चौधरीको विशेष उपस्थिति रहेको थियो।

डा। चौधरीले आयुर्वेद, योग र प्राकृतिक उपचार विधिबाट दीर्घकालीन स्वास्थ्य समस्या न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। त्यसैगरी कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, योग प्रशिक्षकहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाईले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै नागरिक आरोग्य केन्द्रमार्फत नियमित योग, जीवनशैली परामर्श तथा आयुर्वेद सेवाहरू प्रदान गरिने जानकारी गराउनुभयो। कार्यक्रमले केराबारी गाउँपालिकामा स्वास्थ्य प्रवर्द्धन र रोग निवारणमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।