इटहरी । प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
दलका १४ जना र स्वतन्त्र तीन गरी १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यद्यपि निवर्तमान सांसद एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला र एमालेका नेता विनोदप्रसाद ढकालबिच मुख्य प्रतिपस्र्धा हुने देखिन्छ । मोरङको विराटनगरमा कांग्रेसको प्रभुत्व रहँदै आएको छ । स्वर्गीय बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको मोरङमा डाक्टर शेखर कोइरालालाई कांग्रेसको मात्र होइन, कोइराला परिवारको राजनीतिक विरासत पनि जोगाउनुपर्ने दबाब छ । त्यसो त विगतका निर्वाचनलाई हेर्ने हो भने मोरङ ६ कांग्रेसका लागि चुनाव त्यति अप्ठ्यारो क्षेत्र मानिँदैन तर जेनजी विद्रोहपछि पुरानादलप्रति केही वितृष्णा देखिएको छ ।
कांग्रेस, एमालेले विगतमा पाएको मत नै बाढिएर नयाँ दललाई जाने अनुमान गरिएको छ तर पुराना दलका नेताहरू पार्टी पुनः पूर्वअवस्थामा फर्किएको दाबी गर्छन् । उम्मेदवारमा विवाद नभएकाले पार्टीभित्र कुनै मतभेद छैन । सबै तहका नेता कार्यकर्ता चुनावी अभियानमा होमिइसक्नुभएको छ । विकास निर्माणभन्दा पनि कानुन निर्माण, सुशासन र स्थानीय तहलाई सक्षम र सशक्त बनाउने, संविधान संशोधन गरेर जेनजीका माग पूरा गर्ने, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने एजेन्डाका साथ कांग्रेस मतदातासँग पुगिरहेको क्षेत्रीय सभापति तामाङले बताउनुभयो । यहाँ एमालेसँग प्रमुख प्रतिस्पर्धा हुने तामाङको भनाइ छ । मोरङ ६ का कांग्रेस नेता एवं राष्ट्रिय सभाका पूर्व सांसद रमेशजङ्ग रायमाझी पनि डा। कोइराला नेपाली कांग्रेसको उम्मेदवार मात्र नभई पार्टीको राजनीतिक विरासतसँग जोडिएको व्यक्ति भएकाले जिताउन सबै लागेको बताउनुभयो ।
नेकपा (एमाले) का उम्मेदवार विनोदप्रसाद ढकाल पनि प्रमुख प्रतिस्पर्धा एमाले र कांग्रेसबिच नै हुने बताउनुहुन्छ । पार्टीको चुस्त र सुदृढ सङ्गठन र विगतमा एमालेले गरेका काम र आगामी दिनमा गरिने विकास निर्माण र कानुन निर्माणलाई उहाँले एजेन्डा बनाउनुभएको छ । ढकालले फागुन ४ गते आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिनुभयो । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३१ वर्षीय रुविना आचार्य उम्मेदवार हुनुहुन्छ । भ्रष्टाचार नरोकिएको, सुशासन नभएको र विकास निर्माणका काम पनि नभएको रास्वपाको ठहर छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओपेन्द्रकुमार रायले आफू मजदुरहरूको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धा गरिरहेको र यस निर्वाचन क्षेत्रमा औद्योगिक मजदुर धेरै भएकाले निर्वाचन जित्ने बताउनुभयो ।
मोरङ ६ मा विराटनगर महानगरपालिकाका सात वटा वडा, बुढीगङ्गा गाउँपालिकाका पूरै सात वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका छ वटा वडा गरी २० वटा वडा पर्छन् । २०७९ को स्थानीय निर्वाचनमा महानगरका चार वटा वडामा बुढीगङ्गा गाउँपालिकाका पाँच वटा वडामा र सुन्दरहरैँचाका तीन वटा वडामा नेपाली कांग्रेसले चुनाव जितेको थियो । यस्तै एमालेले महानगरका दुई, बुढीगङ्गाको एक र सुन्दरहरैँचाको दुई वडामा चुनाव जितेको थियो । तत्कालीन माओवादी केन्द्रले बुढीगङ्गाको एउटा र जनता समाजवादी पार्टीले महानगरको एउटा वडामा चुनाव जितेको थियो ।


