इटहरी । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको लागि मोरङमा निर्वाचन सामग्री प्याकिङ गर्न थालिएको छ ।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा ३७ प्रकारका मतदान सामग्रीहरु प्याकिङ शुरु गरिएको र निर्वाचन आयोगबाट उपलब्ध हुने सामग्री प्राप्त भएपछि सबै सामग्री एकमुष्ट मतदान अधिकृतहरुलाई वितरण गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । ३७ प्रकारका मतदान सामग्रीमा अनुसूचि फारम, परिचय पत्र, सियो धागो, लाहा, स्वस्तिक छाप, मतपत्र प्याकिङ गर्ने झोला लगायतका सामग्री रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।
उहाँले ३७ प्रकारका सामग्रीहरु स्थानीय बजारबाट खरिद गरिएको र बाँकी १५ वटा सामग्रीहरु केन्द्रबाट आउने जानकारी दिनुभयो । मोरङमा एउटा महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउपालिकाहरुमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदान केन्द्र रहेका छन् । मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई दुइ दिने तालिम दिएपछि नियुक्ति पत्रका साथै निर्वाचन सामग्री, मतपत्र, रकम हस्तान्तरण गरी सम्बन्धित मतदान केन्द्रमा पठाइने बताइएको छ ।


