इटहरी । मोरङ निर्वाचन क्षेत्र नं ३ को लागि नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
बुधबार पथरीमा आयोजित एक पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार डाक्टर देउमान सम्वाहाम्फे सहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
उक्त अवसरमा डाक्टर देउमान सम्वाहाम्फेले आफ्नो निर्वाचन क्षेत्रका लागि तयार पारेको प्रतिबद्धता पत्र पढेर राज्यद्वारा शिक्षा र स्वास्थ्य निशुल्क उपलब्ध गराउन पहल गर्ने, भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको समस्यालाई समाधान गर्न अधिकार सम्पन्न विशेष आयोगको लागि पहल गर्ने, आदिवासी जनजाति तथा महिला तथा दलित उत्पीडित तथा पछाडी परेका समुदायको उत्थानको लागि विशेष पहल गर्ने, बक्राहा, चिसाङ लगायतका नदी किनारमा बस्ने नागरिकको सुरक्षा तथा तट वन्ध जस्ता विभिन्न राजनीतिक तथा स्थानीय सामाजिक मुद्दाहरूमा विशेष पहल गर्ने र आवश्यक कानुन निर्माण गर्न सहयोग पु¥याउने भनी प्रतिबद्धता सहित पत्र सार्वजनिक गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा प्रदेश, जिल्ला र स्थानीय नगरस्तरीय पार्टी पंक्तिका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।


