इटहरी । सुनसरी ब्याडमिन्टन एकेडेमीको आयोजनामा इटहरीमा आज देखि तेस्रो सगरमाथा खुल्ला राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
देशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको सहभागितामा प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा कुल २ सय २ जना खेलाडी सहभागी रहेका छन्। विभिन्न उमेर समूह र प्रतिस्पर्धात्मक तहलाई समेट्दै १३ वटा विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । समग्रमा २ सय ५३ वटा खेल सञ्चालन हुनेछन् भने प्रतियोगिताको फाइनल खेल आगामी फागुन ९ गते आयोजना गरिनेछ । विजेता तथा उपविजेताहरूलाई विधागत रूपमा गरी कुल साढे ६ लाख रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिनेछ ।
सहभागी खेलाडीहरूका लागि खाने–बस्ने लगायत आवश्यक सम्पूर्ण व्यवस्थापन गरिएको सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घले जनाएको छ । सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भोगेन्द्र थापाले प्रतियोगिता राष्ट्रिय स्तरको भएकाले यसको महत्व अझै बढेको उल्लेख गर्दै इटहरीलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि हेमकर्ण पौडेलले खेलकुदले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारले खेलकुद पूर्वाधार विकासमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
उहाँले राष्ट्रिय स्तरका प्रतियोगिताहरू निरन्तर आयोजना गर्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप कुमार रेग्मी, संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केशी, जितेन्द्र थापा, सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका पदाधिकारीहरू, विभिन्न खेलकुद संघका प्रतिनिधिहरू, प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिताले इटहरीमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउनुका साथै राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।


