इटहरी । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा सुनसरीमा उम्मेदवारहरू आ–आफ्ना एजेण्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा सक्रिय बनेका छन् ।

यही क्रममा सुनसरी क्षेत्र नम्बर ४ का जगदिश कुसियत (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्रता दिनुभएको छ । यसपटक कुसियतले ‘स्थानीय उम्मेदवार’को पहिचानलाई मुख्य मुद्दा बनाउनुभएको छ । प्रदेशमन्त्री हुँदा सुरु गरिएका कोशी रिफ्रेसमेन्ट सेन्टर, पार्क निर्माण, सीमा जोड्ने सडक लगायतका योजनालाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै उहाँले स्थानीयताको भावनालाई मतदातामाझ बलियो बनाउने प्रयास गरिरहनुभएको छ ।

घरदैलो कार्यक्रमका क्रममा कुसियतले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र सडक पूर्वाधारजस्ता आधारभूत विषयमा स्थानीय बासिन्दासँग आत्मीय संवाद गर्दै सुझाव तथा गुनासो संकलन गर्नुभएको छ । स्थानीय बासिन्दा भने सबै दलका उम्मेदवारले आश्वासन दिएर जाने तर काममा निरन्तरता नदेखिएको भन्दै समग्र पार्टी प्रणालीप्रति केही निराशा व्यक्त गर्छन्। उनीहरू जनअपेक्षा अनुसार काम गर्ने उम्मेदवारलाई साथ दिने बताउँछन् । भेटघाटका क्रममा बोल्दै उम्मेदवार कुसियतले मन्त्री हुँदा अधुरा रहेका कामलाई अब पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले युवा लक्षित रोजगारी कार्यक्रम, सीपमूलक तालिम, प्रविधिमैत्री शिक्षा प्रणाली तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम अघि बढाउने बताउनुभयो । सुनसरी–४ यसपटक पनि कोशी प्रदेशकै ‘हट सिट’का रूपमा चर्चामा छ । यही क्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्की (नेपाली कांग्रेस) विकासको निरन्तरता नारासहित तेस्रो पटक जित दोहो¥याउने रणनीतिमा सक्रिय हुनुहुन्छ ।

उहाँलाई यसअघि दुई पटक मतदाताले विजयी बनाइसकेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट दिपकुमार साह पनि प्रतिस्पर्धामा हुनुहुन्छ । बहुदलीय प्रतिस्पर्धाले सुनसरी–४ को चुनावी माहोल थप रोचक बनेको छ । स्थानीयताको भावना रोज्ने कि विकासको निरन्तरता—सुनसरी–४ का मतदाताले कस्तो निर्णय गर्छन् भन्ने कुरा निर्वाचनको परिणाम आएपछि मात्र स्पष्ट हुनेछ ।