इटहरी । धनकुटाको पाख्रिवासमा भू–सूचना प्रणालीमार्फत जिल्लाका स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउँदै स्थानीय तहबाटै सेवा प्रवाह प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौँको आयोजनामा तथा धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र पाख्रिवास नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै कुमार इङनामले भूमि प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन सरकारले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा प्रवाह प्रभावकारी बनाउन भू–सूचना प्रणाली महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । मन्त्री इङनामले सम्बन्धित निकायहरूमा संस्थागत सुधार र सुशासन सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्दै सुधार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके सकारात्मक सन्देश जाने तथा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो । पहाडी जिल्लामा पहिलोपटक आयोजना गरिएको यस अभिमुखीकरण कार्यक्रमपछि पाख्रिवास नगरपालिकाबाटै मालपोतसम्बन्धी सेवा सञ्चालन हुने पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बताउनुभयो ।

स्थानीय तहलाई मालपोतसम्बन्धी समन्वय तथा सहजीकरण मालपोत कार्यालय धनकुटाले गर्ने कार्यालय प्रमुख कमलबहादुर थापाले जानकारी दिनुभयो । सहभागीहरूले प्रणाली कार्यान्वयनका क्रममा आवश्यक अन्तरनिकाय समन्वय, प्राविधिक सहयोग तथा जनचेतना अभिवृद्धिमा जोड दिएका छन् । कार्यक्रमले स्थानीय तहमा भूमि प्रशासनलाई थप व्यवस्थित र डिजिटल प्रणालीमा रूपान्तरण गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।