इटहरी । मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–२ मा दुर्घटना भएको हो । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री बेलबारी–२ लालभित्तीका अन्दाजी ७९ वर्षीय जसबहादुर राईलाई बिहीबार दिउँसो १ः३० बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरियो । उपचारकै क्रममा राति १० बजेतिर राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताउनुभयो । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल र चालक मोरङको उर्लाबारी नगरपालिका–५ का २१ वर्षीय अभिषेक निरौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको पत्ता लागेको छ ।


