इटहरी ।  फागु (होली) पर्व नजिकिँदै गर्दा धनकुटा प्रशासनले मर्यादित र सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ।

पहाडी क्षेत्रमा यस पटक फागुन १८ मा होली मनाइँदै छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले होलीको अवसरमा कसैको इच्छा विपरीत रङ्ग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, जबरजस्ती अबिर दल्ने जस्ता गतिविधि नगर्न अनुरोध गरेको हो।

साथै मादक तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजागाजा बजाउने लगायतका अवाञ्छित क्रियाकलाप गर्नमा रोक लगाइएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जनानुभयो। रेग्मीले कसैको निजी जीवनमा असर पर्ने खालका कार्य नगर्न पनि सचेत गराउनुभयो ।