इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगवती चौधरीप्रति मतदाताको आकर्षण क्रमश बढ्दै गएको छ । उहाँको शालीन अभिव्यक्ति संयमित प्रचार शैली तथा विकासमुखी छविका कारण स्थानीय तहमा सकारात्मक प्रतिक्रिया देखिएको बताइन्छ।

चौधरीले आफूले गर्न नसक्ने झुट आश्वासन नदिने प्रतिस्पर्धी उम्मेदवारको व्यक्तिगत आलोचना नगर्ने भ्रष्टाचार नगर्ने तर सुशासनका पक्षमा दृढ रुपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । उहाँका अनुसार राजनीति सेवा र परिणामसँग जोडिनुपर्ने विषय भएकाले व्यवहारमै देखिने कामलाई प्राथमिकता दिएको हो। उम्मेदवार चौधरीले अघिल्लो निर्वाचनमा विजयी भएपछि तीन वर्षको अवधिमा करिब ३ अर्ब २१ करोड रुपैयाँ बजेट सुनिश्चित गरी क्षेत्रका विभिन्न विकास योजना अघि बढाएको जानकारी दिनुभयो।

तीमध्ये केही योजना सम्पन्न भइसकेका र केही कार्यान्वयनकै चरणमा रहेकाले बाँकी काम पूरा गर्ने जिम्मेवारी पुनः दिन जनता समक्ष आग्रह गर्नुभएको छ । सामाजिक क्षेत्रतर्फ पनि उल्लेख्य काम भएको उहाँको दाबी छ । चौधरीका अनुसार २ सय ७५ विपन्न परिवारलाई आवास निर्माण गरेर दिइसकिएको छ भने आगामी दुई वर्षभित्र थप ४ सय परिवारलाई घर निर्माण सहयोग गर्ने योजना रहेको छ ।

साथै हालसम्म २ हजार  भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी सँग जोडिएको र ५० हजार भन्दा बढी महिलालाई आय आर्जन तथा आत्मनिर्भरता कार्यक्रममा सहभागी गराइएको जानकारी उहाँले दिनुभयो । २०७९ सालको निर्वाचनमा चौधरीले कांग्रेस नेता विजयकुमार गच्छदारलाई ५ हजार १  सय ८८ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो।

संसदमा जनसरोकारका विषय स्थानीय समस्या र विकासका मुद्दा उठाउने सक्रिय सांसदमध्ये उहाँलाई लिने गरिएको राजनीतिक वृत्तमा चर्चा छ । स्थानीय मतदाताहरूका अनुसार कामप्रतिको प्रतिबद्धता सहज पहुँच र शालिन व्यवहारले चौधरीप्रति विश्वास बढ्दै गएको देखिन्छ। आगामी निर्वाचनमा विकास योजनाको निरन्तरता र अधुरा काम सम्पन्न गर्ने अपेक्षा मतदाताले राखेका छन् ।