इटहरी । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः आग्रह गर्नुभएको छ ।

शुक्रबार कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा निर्वाचन सुरक्षा सम्बन्धी छलफलमा सहभागी भएर विराटनगर पुग्नुभएका भण्डारीले सञ्चारकर्र्मीसँग कुरा गर्दै आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त सम्पूर्ण उजुरीहरु फागुन २० गतेभित्र टुङ्ग्याइने समेत बताउनुभयो । उहाले निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै उजुरीहरुको अन्तिम निर्णय गरिने जानकारी दिनुभयो । 

उहाका अनुसार हालसम्म आचारसंहिता उल्लंघन सम्बन्धी करिब १ हजार उजुरीमाथि कारबाही भइसकेको छ । तीमध्ये केही प्रकरणमा सजायमुखी निर्णय समेत गरिएको उहाले बताउनुभयो । आचारसंहिता कार्यान्वयनमा कुनै सम्झौता हुने भन्दै भण्डारीले अनुगमन संयन्त्रलाई थप सक्रिय बनाइएको जानकारी दिनुभयो ।

यसैबीच, बीबीसीले प्रसारण गरेको एक डकुमेन्ट्रीबारे सोधिएको प्रश्नमा भण्डारीले उक्त विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको बताउनुभयो । भण्डारीले सबै पक्षलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गर्दै स्वच्छ र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल समेत गर्नुभयो ।