इटहरी । धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष देशबधु कार्कीको नेतृत्वमा समाजको आफ्नै भवन निर्माण कार्यको शुभारम्भ गरिएको छ । बिहीबार इटहरी–२ मायाघर पछाडि आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल द्वारा भवन शिलान्यास सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष कार्कीले भवन निर्माण समाजको दीर्घकालीन सपना भएको उल्लेख गर्दै यसले इटहरीमा बसोबास गर्ने धनकुटेलीहरूलाई अझ संगठित र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। इटहरी–सुनसरी क्षेत्रमा बसोबास गर्दै आएका धनकुटेलीहरूको साझा संस्था धनकुटा–इटहरी सम्पर्क समाजले संस्थागत विकास र दीर्घकालीन स्थायित्वको लक्ष्यसहित भवन निर्माण कार्य अघि बढाएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले समाजले इटहरीमा बसोबास गर्ने धनकुटेलीहरूलाई एकताबद्ध बनाउँदै सामाजिक, सांस्कृतिक तथा आपसी सहयोगको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। उहाँले भवन निर्माणपछि संस्थाका गतिविधिहरू अझ व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।
धनकुटा–इटहरी सम्पर्क समाज विगतदेखि नै इटहरी क्षेत्रमा बसोबास गर्ने धनकुटा जिल्लाका नागरिकहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, सामाजिक एकता कायम गर्ने तथा आवश्यक पर्दा सहयोग आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा सक्रिय रहँदै आएको छ ।
समाजले विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय कार्यहरू सञ्चालन गर्दै आएको छ। अब आफ्नै भवन निर्माणसँगै संस्थाका कार्यक्रमहरू सञ्चालन गर्न सहजता आउने, बैठक, अन्तरक्रिया, सामाजिक कार्यक्रम तथा आपतकालीन सहयोग व्यवस्थापन गर्न थप सुदृढ आधार तयार हुने अपेक्षा गरिएको छ ।


