इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं। २ मा मतगणनाका क्रममा मतपेटिकाभित्र पाँच वटा परिचयपत्र फेला परेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका दिन मतदान गर्ने क्रममा मतपत्रसँगै नागरिकता र मतदाता परिचयपत्र पनि मतपेटिकाभित्र खसालिएको पाइएको हो। सोमबार सुनसरी निर्वाचन क्षेत्र नं। २ को निर्वाचन कार्यालयले मतगणनाका क्रममा फेला परेका ती परिचयपत्र सार्वजनिक गरेको जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार इटहरी–२ की शुसिला कार्की र इटहरी–६ का इमलाल गौतमको नागरिकता मतपेटिकाभित्र भेटिएको छ। त्यसैगरी इनरुवा–१० का मो। जिबराईल अन्सारी, इटहरी–१ का डम्बरबहादुर कार्की तथा इनरुवा–१० की विविआसमान खातुनको मतदाता परिचयपत्र पनि मतपेटिकाभित्रै फेला परेको छ।
मतदानका क्रममा झुक्किएर मतपत्रसँगै परिचयपत्र मतपेटिकाभित्र खसेको हुनसक्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ। फेला परेका परिचयपत्र सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नका लागि निर्वाचन कार्यालयले सम्बन्धित व्यक्तिहरूलाई सुनसरी निर्वाचन क्षेत्र नं। २ को कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।


