इटहरी । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरु चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैत्रको पहिलो साताभित्र समानुपातीकतर्फ निर्वाचित हुनेहरुलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरु सम्पन्न भइसक्ने जानकारी दिनुभएको हो । उहाले मंगलबार सम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताउनुभयो ।

प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको प्रतिशतका आधारमा सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उम्मेदवारको नामावली सम्बन्धीत दलहरुसंग माग गरिने जानकारी दिनुभयो ।

त्यसपछि दलहरुबाट प्राप्त भएका नामलाई क्लस्टर अनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरुको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उहाले बताउनुभयो । प्रत्यक्षतर्फ निर्वाचित भएकाहरुलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।