इटहरी । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका हुन् ।

राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताउनुभयो । उहाले आफुहरुको भूमिका कानून निर्माणमा भएपनि जनताले बिकासको अपेक्षा आफुहरुबाट पनि गरेकाले समस्या हुने गरेको गुनासो गर्नुभयो । त्यस्तै  राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देश बनाउनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

मुलुकको बिकास, सुशासन लगाएतका लागि आवश्यक कानून बनाउनुपर्ने आवश्यकता देखिएकाले त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने उहाको भनाइ छ । उहाले अहिले दुईतिहाई वा बहुमत ठूलो कुरा नभएको भन्दै राष्ट्रिय हितका लागि कुनै कानून रोक्ने काम नहुने र आफुहरुको पूर्ण सहयोग हुने धारणा राख्नुभयो ।

त्यस्तै राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले जनता र राष्ट्रको हित हुने काममा सवैसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । प्रतिनिधिसभा जस्तै राष्ट्रियसभाले पनि यसअघि जस्तै जिम्मेवार भएर काम गर्ने उहाले बताउनुभयो । झाँक्रीले प्रतिनिधिसभा निर्वाचनको नजिताप्रति पार्टी कमिटीमा छिटै आवश्यक समिक्षा हुने उल्लेख गर्नुभयो ।