तरहरा | इटहरी वडा नम्बर २० मा रहेको जनसहयोग कलेजको २०५० सालमा अध्ययनरत विद्यार्थीहरूको समुहको आयोजनामा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा देश–विदेशमा रहेका इच्छुक कविहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।
समूहका अनुसार प्रतियोगिताका लागि कविता वि.सं. २०८२ चैत मसान्तसम्म इमेलमार्फत पठाउन सकिनेछ। प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले नेपाली भाषामा लेखिएको, सामाजिक विषयवस्तुमा आधारित तथा कम्प्युटर टाइप गरिएको कविता पठाउनुपर्ने नियम राखिएको छ।
आयोजकले कविता गद्य वा पद्य दुवै शैलीमा पठाउन सकिने तर २०० शब्दभित्र हुनुपर्ने जनाएको छ। कविता पूर्ण रूपमा मौलिक हुनुपर्ने तथा कुनै पनि विद्युतीय वा छापा माध्यममा यसअघि प्रकाशित वा प्रसारण नभएको हुनुपर्नेछ।
प्रतियोगिताका लागि प्राप्त कविताहरूलाई कोडिङ गरी तीन तहका निर्णायकबाट मूल्याङ्कन गरिनेछ। सो मूल्याङ्कनपछि उत्कृष्ट १० जना कविलाई कविता वाचनका लागि छनोट गरी सम्पर्क गरिने बताइएको छ। छनोट भएका कविहरूले २०८३ वैशाख १९ गते शनिबार आयोजना हुने कार्यक्रममा उपस्थित भई कविता वाचन गर्नुपर्नेछ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुनेलाई ५१ हजार १११ रुपैयाँ, दोस्रो हुनेलाई ४१ हजार १११ रुपैयाँ, तेस्रो हुनेलाई ३१ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। साथै अन्य ६ जना उत्कृष्ट कविलाई जनही ५ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
कवितासँगै प्रतियोगीले आफ्नो हालसालै खिचेको फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा पठाउनुपर्नेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कविता [email protected] इमेलमा पठाउन सक्नेछन्। थप जानकारीका लागि आयोजकका पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ।


