इटहरी। खोलामा डुबिरहेको अवस्थामा खोटाङमा एक व्यक्ति मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा प्रगती टोलका करिब ५० वर्षीय काला सार्की दिखुवा खोलामा मृत भेटिएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क र सोही नगरपालिका ४ खाल्लेको सिमानामा रहेको दिखुवा खोलामा सार्की डुबिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिखुवा खोलास्थित निर्वुजे दहमा पुरै कपडासहित घोप्टिरहेको अवस्थामा सार्की मृत भेटिएका हुन् ।

चैत १ गते मृत भेटिएका सार्कीको पहिचान पश्चात चैत २ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी शुसान्त मिश्रले बताउनुभयो ।आफन्तका अनुसार खोलामा मृत भेटिएका सार्की बेलाबेलामा केही दिन सम्पर्क विहीन भएर घर फर्कने गरेको मिश्रको भनाइ छ ।

यस पटक पनि सार्की २÷३ दिनदेखि हराइरहेको पाइएको उहाँले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।