इटहरी । मोरङको रंगेली नगरपालिका–७ पोखरी टोलस्थित विराटनगर–रंगेली हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
शनिबार राति करिब ९ः२० बजे रंगेलीबाट डाइनिया तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका–५ का करिब २१ वर्षीय सन्जु मण्डल गम्भीर घाइते भएका थिए ।
साथै सोही मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय अनर्जित मण्डल पनि शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका थिए ।दुबै घाइतेलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उनीहरूको अवस्था मध्यम रहेको बताइएको थियो । तर, थप उपचारका लागि राति करिब ११ बजे सन्जु मण्डललाई न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले ११ः२० बजे मृत घोषणा गरेका हुन् ।
घाइते अनर्जित मण्डलको भने नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी आँपगाछीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


