इटहरी ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेवे यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुभएको छ ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य थेवेले गाउँ गाउँमा पुगेर मतदातासँग भेट गरिरहनुभएको हो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि थेवेले यतिबेला जिल्लाको पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका मतदातासँग भेट गर्दै हिँड्नुभएको छ । सिरिजङ्घा गाउँपालिकाका केही र सिदिङ्वा गाउँपालिकाका प्रत्येक वडामा पुगेर सांसद थेवेले मतदातासँग भेट गरिरहनुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन सहयोग गरेकोमा मतदातालाई धन्यवाद दिन र स्थानीय जनताको समस्या तथा गुनासा सुन्नलाई थेबे गाउँ गाउँ पुग्नुभएको बताइएको छ ।

सांसद निर्वाचित भएपछि थेबेको गृह गाउँ सिरिजङ्घा गाउँपालिका–१, सिनाम पुगेर उहाँले स्थानीय मतदातासँग भेट गर्नुभएको छ । सोही गाउँपालिका–२, आम्बेगुदिनमा पुगेर मतदाताका सुझाव, समस्या र गुनासोबारे थेवेले जानकारी लिनुभएको छ । सिदिङ्वा गाउँपालिका–१, कालीखोला पुगेर सांसद थेवेले मतदातासँग भेट गर्नुभएको छ । उहाँले सिदिङ्वा गाउँपालिकाको वडा नं। २ सादेवा, ३ आङ्खोप, ४ साब्लाखु, ५ लिम्बुदिन र वडा नं। ६ मेहेलेका मतदातासँग पनि भेट गर्नुभएको छ । मतदातासँग भेट गरेर सांसदले धन्यवाद दिने र उनीहरूको सुझाव तथा गुनासा सुन्नुभएको छ ।

  भेटका क्रममा मतदाताले शिक्षा, स्वास्थ्यसहित विकास निर्माण र स्थानीय आवश्यकताका पूर्वाधार तथा योजनाका लागि बजेट व्यवस्था गरिदिन र जिल्लाको समग्र विकास साथै समृद्धि गर्नेतर्फ विशेष ध्यान दिन स्थानीयले सुझाव दिने गरेका छन् । मतदाताले निर्वाचनअघि भोट माग्ने व्रmममा गरेका वाचा पूरा गर्न पनि थेवेसमक्ष माग गरेका छन् । उहाँले चैत १ को हुरीले क्षति गरेको सिदिङ्वाका विभिन्न ठाउँको थेवेले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । हुरीले क्षति पु¥याएको सार्वजनिक तथा निजी संरचनाको निरीक्षणसँगै पीडित परिवारसँग उहाँले भेट गर्नुभएको छ ।

हुरीले सिदिङ्वा गाउँपालिकाका विभिन्न वडामा रुख ढलेर केही निजी घर तथा सार्वजनिक संरचनामा क्षति गरेको थियो । हुरीले सार्वजनिक संरचना अन्तर्गत वडा कार्यालय र विद्यालयको छाना उडाएर क्षति गरेको थियो भने करिब डेढ दर्जन परिवार स्थानीयको घरका छाना हुरीले उडाएको थियो । हुरी पु¥याएको विभिन्न क्षतिबाट साढे ७५ लाख रुपियाँभन्दा बढीको नोक्सानी भएको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ । स्थानीय मतदाताले दिएको सुझाव तथा समस्या र गुनासाका आधारमा आफूले जिम्मेवारी निर्वाह गर्ने सांसद थेवेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।