इटहरी । मेची पहाड जोड्ने मेची राजमार्गअन्तर्गत इलामको माइखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्ड अवरुद्ध हुने निश्चितजस्तै भएको भन्दै इलामबासीले यस खण्डको विकल्प दिन सरकारलाई आग्रह गरेका छन् ।
वर्षौंदेखि जमिन भासिने र बग्ने समस्या हुँदैआएको यो खण्डमा गएको असोज १८ को वर्षा र बाढी पहिरोसँगै पुनः अवरुद्ध भएपछि अबको वर्षाको समयमा पनि यहाँबाट यातायात सञ्चालन नहुने अवस्था रहेको भन्दै जिल्लाबासीले सरकार र जिल्लास्थित सरोकारवाला निकायलाई तत्काल यसको विकल्पमा काम गर्न आग्रह गरेका हुन् । जिल्ला प्रशासन कार्यालय इलाममा भएको सर्वपक्षीय भेलामा सहभागीले असोज १८ को विपद्पछि उक्त स्थानमा विभिन्न प्रविधि अपनाएर मर्मत गरिए पनि त्यो दीर्घकालीन नहुने बताएका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको भेलामा अधिकांश सहभागीले यो सडक खण्डको विकल्पमा रहेको तिल्केनी–सिमल गोलाई सडक, केचना कञ्चनजंघा सडकलाई तत्काल मर्मत र सम्पन्न गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा सडक डिभिजन कार्यालय प्रमुख पवन भट्टराईले राजदुवाली सडक खण्डमा ‘ड्रिलिङ’ गरेर मर्मतको काम भइरहे पनि यसै भन्न नसकिने अवस्था रहेको बताउनुुभयो । भट्टराईले मेची पहाडका लागि अबको भरपर्दो विकल्प केचना कञ्चनजंघा सडक नै रहेको र यो सडकमा ठेक्केदारलाई चाँडो काम गर्न ताकेता गरिहेको बताउनुुभयो । भट्टराईले गएको असोज १८ को बाढी भासिएको माइखोलास्थित बेलासे पुलमा बेलीबृज राख्न, सोही सडकबिचको पुवाखोलामा पुनः बेलीबृज राख्न र तिल्केनी–सिमलगोलाई सडकबिच पर्ने जोगमाई खोलामा बेलीबृज राख्न काम अघि बढिसकेको छ । आगामी जेठ महिनाभित्र काम सकिने उहाँले जानकारी दिनुुभयो ।
असोज १८ को बाढीले माइखोलाको बेलासेस्थित पक्की पुलको आधा भाग भास्सिएको, पुवाखोला र जोगमाइ खोलाको बेलीबृज बाढीले बगाएको थियो । मेची राजमार्गको राजदुवालीमाथिको सडकमा भने पहिरो गएर १२ दिनसम्म यातायात अवरुद्ध भएको थियो । यो खण्डमा अहिले पनि पहिरोमाथि नै यातायात सञ्चालन भइरहेको डिभिनज प्रमुख भट्टराईले बताउनुभयो । यो राजमार्ग इलामसहित पाँचथर, ताप्लेजुुङ र तेह्थुमको केही भागका लागि ‘लाइफ लाइन’ को रुपमा रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले राजमार्गको अवस्था हेर्दा र वैकल्पिक सडकहरु तयार नभइरहेको अवस्थामा आउँदो वर्षा सिजनका लागि आवश्यक दैनिक उपभोग्य सामग्रीप्रति पनि सचेत रहनुु पर्ने अवस्था नआउला भन्न नसकिने बताउनुुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, निर्माण व्यवसायी, राजनीतिक दल, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।


