इटहरी । सुनसरीको धरानमा एक युवतीलाई अपहरण गरी जङ्गलमा लगेर बलात्कार तथा लुटपाट गरेको आरोपमा सीटी सफारी चालक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया युवती उक्त घटनाको शिकार बनेकी हुन्। प्रहरीका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घरबाट पुरानो कपडा लिन धरान आएकी ती युवती फर्किने क्रममा भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेकी थिइन्। सोही बेला एक अपरिचित व्यक्तिले सीटी सफारीमा चढ्न आग्रह गरी उनलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आरोपितले युवतीलाई साकेला पार्क नजिकको एकान्त जङ्गल क्षेत्रमा लगेर कुटपिट गरी अचेत बनाएको र त्यसपछि जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ। घटनापछि आरोपितले युवतीको मोबाइलसमेत लुटेर फरार भएको बताइएको छ। घटनापछि इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईको नेतृत्वमा अनुसन्धान सुरु गरिएको थियो। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गरी सवारीसाधनको पहिचान गरेको जनाएको छ।
त्यसका आधारमा अनुसन्धान अघि बढाउँदा उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरीको रामधुनी नगरपालिका–२ परिसापुरका २६ वर्षीय रोशन विश्वकर्मालाई मंगलबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका विश्वकर्माविरुद्ध जबरजस्ती करणी तथा अन्य सम्बन्धित कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।


