इटहरी। झापामा मंगलबार विहान र साँझ आएको हावाहुरी तथा असिना पानीले बिभिन्न पालिकाहरुमा क्षति गरेको छ । एक साताअघि आएको हावाहुरी र असिना पानीले सो क्षति गरेको हो । 

एक साता नबित्दै झापामा पुनः हावाहुरी र असिनाले गरेको क्षतिको विवरण संकलन कार्य भइरहेको जिल्ला प्र्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरी र असिनापानी दमक –४ स्थित कृष्ण मन्दिर नजिकै पूर्व–पश्चिम लोकमार्गको छेउमा रहेका पाँचवटा विद्युत पोल ढालेर क्षति गरेको छ । पोल ढल्दा ६५ वर्षीय टंक कटुवालको जस्ताको छानो भएको दुई तले घरमाथि खस्दा क्षति पुगेको छ । तत्काल बिद्युत प्राधिकरणले उक्त पोल हटाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काले बताउनुभयो ।

झापाकै कमल गाउँपालिका –२ छलफल चोकमा रहेको हाइजिङ प्याक्स नेपाल प्रालि ९जुस फ्याक्ट्री० मा पनि हावाहुरीले क्षति गरेको प्रहरीले जनाएको छ । उद्योगमा जडान गरिएको ट्रस र टिनको संरचनाहरू उडाएर क्षति गरेको छ ।  यसैगरी अविरल वर्षा र असिनाले प्रहरी चौकी पाठामारीको भान्सा घरमा समेत ठुलो क्षति गरेको खड्काले बताउनुभयो । छानो क्षतिग्रस्त भएपछि प्रहरीहरू हाल अस्थायी रूपमा बरन्डामा खाना पकाएर खानु परेको खड्काले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिका –३ ज्ञानेचोकमा तीन जनाको घरमा असिनाले क्षति गरेको  विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । स्थानीय उमेश मगर, हेमबहादुर लिम्बू र दिलबहादुर राईको एक तले घरहरूको टिनको छानामा प्वाल पारेको छ । क्षति विवरण आउनेक्रम जारी रहेको प्रहरीको भनाइ छ ।