इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालित जडीबुटी प्रशोधन उद्योग सिल गरिएको एक महिना बितिसक्दा पनि पुनः सञ्चालनमा आउन नसक्दा करिब ५० लाख रुपैयाँ बराबरको कच्चा पदार्थ नोक्सानी भएको छ । 

आवश्यक कानुनी प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा नगरेको भन्दै डिभिजन वन कार्यालयले एक महिना अघि उद्योग सिल गरेको थियो । सो उद्योग सञ्चालन गर्दै आएको चाइनीज होओचेङ बायोटेक्नोलोजी प्रालिले आवश्यक कागजात पूरा नगरेको निष्कर्षसहित उद्योग बन्द गरिएको जनाइएको छ । उद्योगका व्यवस्थापक हरि श्रेष्ठका अनुसार आवश्यक कागजात पेश गरिसकिएको र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रारम्भिक वातावरणीय परीक्षण ९आईईई० प्रतिवेदन आउने प्रक्रियामा रहेको छ । 

श्रेष्ठका अनुसार हालसम्म करिब ५० लाख रुपैयाँभन्दा बढीको कच्चा पदार्थ प्रशोधन गर्न नपाउँदा नष्ट भइसकेको छ । समयमै प्रशोधन गर्न नसक्दा उत्पादन घट्ने र त्यसले थप आर्थिक क्षति निम्त्याउने अवस्था रहेको उहाले बताउनुभयो । उद्योग निर्माणमा हालसम्म करिब तीन करोड रुपियाँ लगानी भइसकेको छ भने पूर्ण सञ्चालनमा आउँदा कुल लागत पाँच करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । लामो समयसम्म उद्योग बन्द रहँदा कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको व्यवस्थापक श्रेष्ठको भनाइ छ । 

यता डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख मनाराज राईले भने आवश्यक प्रतिवेदन प्राप्त नभएसम्म उद्योग सञ्चालन अनुमति दिन नसकिने स्पष्ट पारे। उहाँका अनुसार वन क्षेत्रसँग सम्बन्धित दूरी कायम प्रतिवेदन तथा मन्त्रालयबाट जारी हुने आईईईु प्रतिवेदन अझै प्राप्त हुन बाँकी छ । सबै कानुनी प्रक्रिया र मापदण्ड पूरा भएपछि मात्र उद्योग सञ्चालनबारे निर्णय हुने प्रमुख राईले बताउनुभयो । हाल उद्योग पुनः सञ्चालन हुने समयबारे अन्योल कायम रहेको छ ।