इटहरी । इलाममा आगामी बैशाखमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव आयोजना गरिने भएको छ ।‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यो महोत्सव पाँचौ संस्करण हो ।
इलाम नगरपालिकास्थित नगर साहित्य तथा कला प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारको सहभागिता रहने जनाइएको छ । महोत्सवमा भारतका सिक्किम, दार्जिलिङ र पटना लगायत क्षेत्रबाट साहित्यकार सहभागी हुने निश्चित भएको नगर साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो ।
विसं २००९ सालमा इलामको करफोकामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि बालकृष्ण सम, लेखनाथ पौड्याल, धरणीधर कोइरालालगायतका साहित्यकाहरु समिलित सम्मेलन कै दिनबाट अहिले सम्मका साहित्य सम्मेलन र इलाम साहित्य महोत्सव हुँदै आएको अध्यक्ष थाम्सुहाङको भनाइ छ ।
यसपटकको महोत्सवमा साहित्यकार बैरागी काइँलालाई इलाममा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको पनि जनाइएको छ । यस्तै हाङयुुग जुुनिता फाउण्डेसनद्वारा स्थापित ५० हजार नगद राशीको पुरस्कार वितरण, राधिका नेम्वाङ देवान स्मृति पुरस्कार र अन्य विभिन्न पुरस्कार समेत प्रदान गर्ने कार्यक्रम तय भएको अध्यक्ष थाम्सुहाङले बताउनुभयो ।


