इटहरी । रैथाने खाना र संस्कृतिको प्रवर्धन गरी पर्यटन विकास गर्ने उद्देश्य सहित भोजपुरको चखेवामा खाना महोत्सव आयोजना गरिएको छ ।
नयाँ बर्ष २०८३ सालको अवसरमा मुन्दुम पदमार्ग अन्तर्गतको पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्व’ हुन लागेको हो । महोत्सव यही चैत्र ३० गतेदेखि बैशाख दुई गतेसम्म सञ्चालन हुने छ । ‘मुन्दुम पदमार्गको चखेवा जाऔं, रैथाने खाना र स्थानीय संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ गत बर्ष पनि चखेवामा खाना महोत्सवको आयोजना गरिएको थियो । टेम्केमैयुङ गाउँपालिका वडा नम्वर चार, नागीमा पर्ने चखेवामा स्थानीय स्तरका खानाका स्टलहरु रहने छन् ।
पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गतको यो क्षेत्र मुन्दुम पदमार्ग क्षेत्र हो । टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी)र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा स्थानीय रैथाने खाना र कृषि उत्पादनको प्रर्वद्धन तथा बजारीकरण साथै मुन्दुम पदमार्गको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउन महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष बिवेक कुलुङले जानकारी दिनुभयो ।
रैथाने खाना प्रवद्र्धनले पर्यटन विकास र स्थानीय अर्थतन्त्र सुधारमा समेत टेवा पुग्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मुन्दुम पदमार्गको प्रचार–प्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
यस पदमार्गमा भ्रमण गर्ने पर्यटकहरूले स्थानीय स्तरमा उत्पादन हुने परिकारहरू जस्तै कोदो, फापर, मकै, भटमास लगायतका विभिन्न स्वादिष्ट खानाको स्वाद लिन सक्ने छन् । सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गर्दे आईरहेको छ ।


