इटहरी । भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको तावाभञ्ज्याङ्ग पर्यटकीय क्षेत्र बन्दै गएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिका वडा नम्बर –३ मा रहेको तावाभञ्ज्याङ्ग किराती सभ्यता सँग जोडिएको मान्यता रहेको छ । यहीँ सहिद स्तम्भ पार्क र चिन्डो पोखरी समेत निर्माण गरिएको छ । चिन्डो पार्कको निर्माण २०७३ सालमा निर्माण गरिएको हो । मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो । यहाँ साकेला सिलि नाच समेत नाचिन्छ । नजिकैको सेल्मे डाँडामा बसन्त ऋतुमा गुराँस फुलेर ढकमक्क हुने गर्दछ ।
तावाभञ्ज्याङमा निर्माण गरेको सहिद पार्क र चिन्डो पोखरीले पर्यटकको आकर्षक केन्द्र बन्दै गएको छ । तावाभञ्ज्याङ्ग रमणीय र पर्यटकको मनै लोब्याउने क्षेत्र रहेकाले स्थानीय सरकार ,प्रदेश सरकार र संघिय सरकारले तावाभञ्ज्याङ्ग पर्यटन प्रवद्वन गर्न तावा ताललाई संरक्षण गरिरहेको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज माङ्गपाहाङ्गले बताउनुभयो ।
तावा भनेको मयुर हो जुन सेल्मेको भञ्ज्याङ मिलेर तावाभञ्ज्याङ भनिएको र यहीँ बाट बग्ने पानी मयुर आकारको रहेको उहाको भनाइ छ । तालको माथिल्लो भागमा माछा हुने भएकाले आय आर्जन गर्न सकिने छ । तावाभञ्ज्याङ्गमा धार्मिक गार्डेन सहित साकेला गाउँपालिकाका १३ वटा जातिलाई संरक्षण गर्न तावाभञ्ज्याङ्गमा सांस्कृतिक घर बनाउन डिपिआर तयार पारिएको छ । यहाँको अर्को मनोरम दृश्य चिया बगान हो ।
तापाभञ्ज्यालाई टेम्कैमैयुङ गाउँपालिका, साकेला गाउँपालिका र केन्द्रीय सरकारले विकासको काममा अगाडि बढाइरहेको छ ।


