इटहरी  । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ।

मोरङको सुन्दरहरैंचा–४ स्थित चिल्ड्रेन मन्टेश्वरी स्कुलमा रहेको प्रदेश कार्यालयमा अध्यक्ष कमल खनालको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तार देखि कार्यालय व्यवस्थापन सम्मका विषयमा विस्तृत छलफल गरेको हो। बैठकले कार्यालय व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र सेवा–मुखी बनाउने निर्णय गरेको छ । साथै, हालै सम्पन्न प्रदेश अधिवेशनको समिक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउने रणनीतिमा जोड दिइएको छ ।

त्यसैगरी, आगामी चैत २८ गते प्रदेश स्तरीय सांगठनिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा नववर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिएको छ। बैठकले वार्षिक कार्यक्रम तय गर्दै शैक्षिक क्षेत्रका विविध गतिविधिहरूलाई प्राथमिकताका साथ अघि बढाउने योजना बनाएको छ।

सदस्य विस्तारलाई तीव्रता दिने, नयाँ विद्यालयहरूलाई संगठनमा आबद्ध गराउने र आर्थिक कोष व्यवस्थापनलाई पारदर्शी तथा सुदृढ बनाउने विषयमा पनि बैठकले ठोस निर्णय गरेको जनाएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल खनालले कोशी प्रदेशमा निजी तथा आवासीय विद्यालयहरूको गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

खनालले सबै सदस्यहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्दै आगामी दिनमा नेसनल प्याब्सनलाई अझ प्रभावकारी, उत्तरदायी र शैक्षिक नेतृत्वदायी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।