इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ ले वडा भित्रका जेष्ठ नागरिकलाई तिर्थाटन  भ्रमण गराएको छ ।

शनिबार वडा कार्यालयले  वडा भित्र बसोबास गर्दै आइरहनुभएको ६८ वर्ष माथिका ७६ जना जेष्ठ नागरिकहरूलाई धनकुटाको भेडेटारस्थित पाथीभरा देवी मन्दिर र धरानको बुढा सुब्बा तथा  रामधुनी मन्दिरमा दर्शन गराएको हो। जेष्ठ नागरिकहरूलाई धार्मिक भ्रमणका क्रममा स्वस्थकर खानाको पनि व्यवस्थापन भएको थियो।

सोहि भ्रमणका क्रममा पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीहरू रञ्जना दहाल र रत्नकला गुरुङले वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो।  उक्त भ्रमणका लागि वडा कार्यालयले  कुल १ लाख रुपैयाँ विनियोजन गरेको  वडा अध्यक्ष नैना राईले बताउनुभयो।   

वृद्ध वृद्धा आमा–बुबाहरूको लागि  वडा सदस्यहरू  क्रमशः खिलानाथ घिमिरे, अम्बिका लिम्बु र सीता भुसाल , लेखा कर्मचारी गोपाल खड्का सहित सक्रिय रूपमा खटिनुभएको थियो।  यसैगरी, वडा नम्बर ८ ले पनि आइतबार धरानका विभिन्न मठमन्दिर र शक्ति पीठहरूमा वडाका जेष्ठ नागरिकहरूलाई  तीर्थ भ्रमण गराएको थियो। वडा नम्बर ८ ले चतराधाम र बुढासुब्बा लगायतका मठ मन्दिरहरूमा दर्शन गराएको वडा कार्यालय जनाएको छ ।