इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट करिब एक करोड ७० लाख रुपियाँ बराबरको एक्साभेटर मेसिन अनुदानमा प्राप्त गरेको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा सडक निर्माणका कामलाई तीव्रता दिने उद्देश्यले दुई वर्षदेखि गरिएको पहलपछि एक्साभेटर प्राप्त भएको हो ।
गाउँपालिकाका अध्यक्ष युकहाङ वीर हाङ्गामका अनुसार गाउँपालिकाले चीन सरकारसमक्ष एक्साभेटर मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । सोही अनुरोध अनुसार चीन सरकारबाट अनुदान सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चङ्बाङले बुधबार सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकामा आयोजित कार्यव्रmममा सम्झौतापत्रमा हस्ताक्षर गर्दै एक्साभेटर बुझ्नुभएको छ । उक्त मेसिन एक साताभित्र गाउँपालिकामा आइपुग्ने गाउँपालिका अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।
भौगोलिक रूपमा विकट रहेको मेरिङ्देन गाउँपालिकामा सडक निर्माण, स्तरोन्नति तथा अन्य पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन एक्साभेटर उपयोगी हुने गाउँपालिकाले जनाएको छ । मेसिन उपलब्ध भएपछि ग्रामीण सडक विस्तार, सडक मर्मत तथा नयाँ सडक निर्माणका काममा सहजता आउने अपेक्षा गरिएको छ । गाउँपालिकाका विभिन्न बस्तीलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन मेसिनले सहयोग पुग्ने अध्यक्ष हाङ्गामले बताउनुभयो । उहाँका अनुसार विकासनिर्माणका कामलाई गति दिन र स्थानीय आवश्यकता अनुसार पूर्वाधार विस्तार गर्न एक्साभेटरको अधिकतम सदुपयोग गरिने छ ।
एक्साभेटर प्राप्तिका लागि गरिएको पहलमा फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले समन्वयमा सहयोग गर्नुभएको गाउँपालिकाले जनाएको छ । चीन सरकारबाट प्राप्त सहयोगले गाउँपालिकाको विकासनिर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष हाङ्गामले मेसिनको उचित उपयोग गरी सडक तथा अन्य पूर्वाधार विकासका कामलाई प्राथमिकतासाथ अघि बढाइने बताउनुभयो ।


