इटहरी । नेपाल पत्रकार महसंघको ७१ औँ स्थापना दिवसको अवसरमा सोमबार इटहरीमा प्रभातफेरीको आयोजना गरिएको थियो ।
नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा इटहरीमा भेला भएका पत्रकारहरुले प्रभातफेरी गर्दै नगरको परिक्रमा गरेका थिए । इटहरी उपमहानगरपालिकाको गेटबाट सुरु गरिएको प्रभातफेरी इटहरी चौकको परिक्रमा गरी उपमहानगरपालिका अगाडी आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले पत्रकार संघबाट महासंघ बनाउन सुनसरी जिल्लाले खेलेको भूमिकाको चर्चा गर्नु भयो । नेपाल पत्रकार महासंघको इतिहासमा सुनसरी जिल्ला ऐतिहासिक जिल्लाको रुपमा रहँदै आएको उहाँले बताउनुभयो ।
पत्रकारका विभिन्न संगठनहरूको तर्फबाट धारणा राख्दै प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष सुमन पुरीले देश अहिले लोकतन्त्रको कठिन अभ्यासको चरणमा रहेको बताउनुभयो । पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले महासंघ सुनसरीले पत्रकारको हकहित र क्षमता विकासका लागि काम गर्दै आएको बताउनुभयो ।
सुनसरीका इटहरी, धरान, इनरुवा, रामधुनी, दुहबी र बराहक्षेत्र लगायतका शहरहरूमा सक्रिय रूपमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


