इटहरी ।  ताप्लेजुङमा सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित पुँजीगत बजेट खर्च निरासाजनक रहेको छ ।

चालु आर्थिक वर्ष सकिनलाई करिव साढे तीन महिनाको समय बाँकी रहँदा पुँजीगत अर्थात विकास बजेट खर्च अत्यन्तै न्यून भएको पाइएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार हालसम्म अर्थात चालु आवको चैत दोस्रो साता बित्दासम्ममा पुँजीगत बजेट खर्च सङ्घतर्फको करिव २२ प्रतिशत मात्र भएको छ । त्यस्तै प्रदेशतर्फको बजेट अझ कम अर्थात करिव १२ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी नवीन खनालका अनुसार चैत दोस्रो साता सम्ममा सङ्घ तर्फको पुँजीगत बजेटको कुल २१।७० प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै प्रदेशततर्फको ११।१४ प्रतिशत मात्र खर्च भएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय पुँजीगत बजेट ८२ करोड ९० लाख १५ हजार रुपियाँ रहेकोमा हालसम्म १७ करोड ९९ लाख ४०३ रुपियाँ खर्च भएको छ ।

प्रदेशतर्फको पुँजीगत बजेछ ५७ करोड २७ लाख ४४ हजारमध्ये हालसम्म छ करोड ३८ लाख ४१ हजार ६८३ रुपियाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु बजेट भने सङ्घतर्फ ६०।९५ र प्रदेशतर्फ ३४।९७ प्रतिशत खर्च भई सकेको छ । जसअनुसार सङ्घतर्फ कुल चार अर्ब ७१ करोड १७ लाख ८६ हजार २८ रुपियाँ चालु बजेट रहेकोमा चैत दोस्रो साता सम्ममा दुई अर्ब ८७ करोड २२ लाख ५४ हजार ७०८ रुपियाँ खर्च भई सकेको छ ।

त्यस्तै प्रदेश तर्फको चालु बजेट कुल ६० करोड ६३ लाख ८६ हजार रुपियाँमध्ये २१ करोड नौ लाख ९९ हजार ७८४ रुपियाँ खर्च भएको छ । विशेषगरी पुँजीगत बजेट समयमा खर्च नहुँदा विकास निर्माणसँग सम्बन्धित योजनाहरु प्रभावित हुने बताइएको छ ।