इटहरी । विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई करिब ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबरको दुध बक्यौता तिर्न बाँकी रहेको छ । चालू आर्थिक वर्षको साउन मसान्त देखि चैत्र मध्य सम्म आयोजनाले करिब २४ करोड ४१ लाख ५० हजार रुपैयाँ दुग्ध कृषकलाई भुक्तानी गरिसकेको जनाएको छ ।

गत असोज मसान्त सम्मको बक्यौता रकम भने पूर्ण रुपमा भुक्तानी गरिसकिएको र त्यसपछिको रकम तिर्न बाँकी रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी दिनुभयो । उहाका अनुसार आयोजनामा करिब १२ करोड रुपैयाँ बराबरको ९४ मेट्रिक टन पाउडर दुध र ७० मेट्रिक टन मक्खन मौज्दात रहेकाले नगद प्रवाहमा समस्या देखिएको छ । उहाले उत्पादित सामग्री बिक्री हुन नसक्दा किसानलाई समयमै भुक्तानी गर्न कठिनाइ भएको जनाउनुभयो । 

बिराटनगरमा दुग्ध संकलनमा समेत गिरावट आएको छ । पहिले दैनिक करिब १५ हजार लिटर दुध संकलन हुने गरेकोमा हाल घटेर १० देखि ११ हजार लिटरमा सीमित भएको आयोजनाले जनाएको छ । संकलित दुधमध्ये करिब ५ हजार लिटर विभिन्न दुग्धजन्य सामग्री उत्पादनमा प्रयोग हुने र बाँकी दुधलाई पाउडर बनाएर भण्डारण गर्ने गरिएको छ ।

दुध संकलन घटेपछि हाल हप्तामा दुई दिन मात्र पाउडर दुध उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । बजार व्यवस्थापन र बिक्री वृद्धि हुन नसक्दा मौज्दात बढ्दै गएको र त्यसले किसानको भुक्तानीमा प्रत्यक्ष असर परेको देखिन्छ ।