इटहरी । स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो । अघिल्ला वर्षहरूमा इलाम नगरपालिकाका तर्फबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमी छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उद्यमीलाई व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न सहयोग पुग्ने उद्देश्यले अनुदानमा ल्यापटप उपलब्ध गराइएको कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताउनुभयो ।
उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरी सोही रकमबाट आवेदन आह्वान गरी छनोट भएका उद्यमीलाई ल्यापटप उपलब्ध गराइएको जानकारी दिँदै दाहालले आगामी वर्षमा समेत उद्यमी प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । यता अनुदानमा ल्यापटप पाएपछि उद्यमीहरू पनि हर्षित भएका छन् । उनीहरूले आफ्नो व्यवसाय सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्न नगरपालिकाको यस्तो कार्यक्रमले सहयोग मिलेको प्रतिक्रिया दिएका छन् । इलाम नगरपालिकाले नगरपालिकाभित्रका साना तथा मझौला व्यवसायमा संलग्न रहेको उद्यमीलाई सहयोग गरेको हो ।
नगरपालिकाले ललिपप उद्योग, मौरीपालन, अचार बनाउन उद्योग, सैलुन व्यवसाय, राइस मिलरकुटानी पिसानी, सोलार सर्भिस, सिलाइकटाई, कृषि उपज उत्पादन सङ्कलन वस्तुको प्याकेजिङ, चिया प्रशोधन, हस्तकला उद्योगलगायतका व्यवसाय गरिरहेका युवालाई प्रोत्साहनका लागि सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । प्रविधिको प्रयोगमार्फत उत्पादनको प्रचारप्रसार, लेखा व्यवस्थापन तथा बजारसँग जोडिन सहज हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । इलाम नगरपालिकाले स्थानीयस्तरमा रोजगारी सृजना गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्न चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।


