इटहरी । कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन थालेको हो । 

उद्योगको वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले शुक्रबार उद्घाटन गर्नुभएको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् । उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधिहरुमा आत्मनिर्भर बन्ने नेपालीहरुको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश ठाकुरले बताउनुभयो । उद्योगमा ठाकुर र रञ्जित भगतसहितका लगानीकर्ताहरुले लगानी गर्नुभएको छ । 

लगानीकर्ताहरुले पाँच वर्षको अध्ययन र योजनापछि यो महत्वाकांक्षी परियोजनालाई मूर्त रूप दिनुभएको हो । उद्योगमा जर्मन प्रविधिको अत्याधुनिक मेसिनहरु प्रयोग गरिएका छन् । उद्योगले पहिलो चरणमा १०० एमएलदेखि ३ हजार एमएलसम्मको ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ सलाइन उत्पादन गरिरहेको छ । आगामी दिनमा उत्पादन विस्तार गर्दै १ देखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधीहरू समेत उत्पादन गरी बजारमा ल्याउने योजनाका साथ काम गरिरहेको उद्योगका निर्देशक दिनेश ठाकुरले जानकारी दिनुभयो । 

लगानीकर्ताहरु निरुत्साहित भइरहेको बेलामा व्यावसायिक चुनौतीसँग जुध्दै सञ्चालनमा आएको यस उद्योगले बजार व्यवस्थापनमा भने केही कठिनाइ झेलिरहेको जनाएको छ । उहाँले स्वदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सुधार र सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । नेपालको औषधी बजारमा वैदेशिक कम्पनीहरू उत्पादनको वर्चस्व रहेको छ । यस्तो अवस्थामा गरिएको ठूलो लगानीले नेपाली उद्योग क्षेत्रमा नयाँ उत्साह थपेको र दीर्घकालमा विदेशमा निर्यातसमेत गर्ने लक्ष्यका साथ काम गर्ने उद्योगीहरुले बताउनुभएको छ ।