इटहरी ।  भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् । लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेती विस्तार हुँदै गएको स्थानीय किसान शम्भु राईले बताउनुभयो । उहाँका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित रूपमा गरिँदै आएको सुन्तला खेती हाल व्यावसायिक रूपमा विस्तार हुन थालेको छ । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न हतुवागढी गाउँपालिकाले विभिन्न अनुदान तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालनसमेत सञ्चालन गर्दै आएको छ ।

सुन्तलाका बिरुवा वितरण, बगैँचा व्यवस्थापन तालिम, मलखाद तथा रोग व्यवस्थापनसम्बन्धी सहयोगले किसानलाई थप हौसला मिलेको राईको भनाइ छ । हतुवागढी–२ लुङ्गिनका वडाध्यक्ष बिचारी थापाले फलफूल खेतीमार्फत किसानको आयआर्जन बढाउने लक्ष्यसहित सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न वडाको बजेटमा नर्सरीसमेत विस्तार गरिएको र वडाले समयसमयमा सुन्तला, एभोकार्डो, कागतीका बिरुवासमेत वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय कृषक प्रशुराम राईका अनुसार सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसतर्फ आकर्षित भइरहेका छन् । आफ्नो बारीमा हाल १५० बोट  हारहारी सुन्तला रहेको उहाँले बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले लुङ्गिन क्षेत्र फलफूल खेतीका लागि उपयुक्त भएकाले सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले सुन्तला खेतीमार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो ।

फलफूल खेतीको माध्यमबाट किसानको आयस्तर सुधार गर्ने लक्ष्यले भूगोलअनुसार फलफूल खेतीमा जोड दिएको उहाँले बताउनुभयो । स्थानीय तहको सहयोग, उपयुक्त हावापानी र बजारको पहुँचका कारण लुङ्गिन क्षेत्र सुन्तला उत्पादनको उदीयमान केन्द्रका रूपमा विकास हुँदै गएको छ ।