इटहरी । जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट ध्वस्त बनेका विराटनगरको बजार क्षेत्रका  ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याउन २२ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ। 

विराटनगर महानगरपालिकाले यसअघि करिब ७७ लाख रुपैयाँ खर्चेर सहरका पाँच स्थानमा आधुनिक ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको थियो। भदौ २४ गते भएको प्रदर्शनका क्रममा ती सबै लाइटमा क्षति पुगेपछि हाल मेनरोड र कोशी राजमार्ग आसपासका ती स्थानमा ट्राफिक लाइट सेवा पूर्ण रूपमा अवरूद्ध छ।

महानगरपालिकाका अनुसार तोडफोडबाट करिब २२ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। लाइटसँग सम्बन्धित उपकरणहरू नष्ट हुँदा प्रणाली नै बन्द अवस्थामा पुगेको हो। क्षतिग्रस्त संरचना मर्मतका लागि जडान कम्पनीका प्राविधिक टोली परिचालन गरिएको छ। महानगरका इन्जिनियर अर्जुन थापाका अनुसार आवश्यक मर्मत कार्य पूरा गरी वैशाख दोस्रो सातासम्म पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

प्रदेश सरकारको लगानीमा बरगाछी क्षेत्रमा जडान गरिएको ट्राफिक लाइट भने मर्मतपछि केही समय सञ्चालनमा आए पनि अहिले पुनः बन्द अवस्थामा रहेको छ।  महानगरपालिकाले जडान गरेका पाँचवटै लाइट अझै सञ्चालनमा हुन सकेका छैनन्। विराटनगरको ट्राफिक व्यवस्थापन सुधार गर्ने उद्देश्यले रोडशेष चोक, तीनपैनी चोक, जलजला मोड, घाँस चोक र कञ्चनबारी क्षेत्रमा ट्राफिक लाइट राखिएको थियो। ती स्थानहरू सहरभित्र सवारी चाप अत्यधिक हुने क्षेत्रका रूपमा चिनिन्छन्।

कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा बढ्दो सवारी चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि आधुनिक प्रविधिमा आधारित लाइट प्रणाली जडान गरिएको थियो। दैनिक करिब ९५ हजार सवारी साधन आवतजावत गर्ने अनुमानका आधारमा उक्त पूर्वाधार विस्तार गरिएको हो। आन्दोलनका क्रममा ट्राफिक लाइट लक्षित गरी गरिएको तोडफोडका कारण सर्वसाधारणकै करबाट संकलित रकम पुनः मर्मतमा खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रदर्शनकारीहरूले त्यसबेला ट्राफिक लाइटका विभिन्न उपकरणमा आगजनी तथा तोडफोड गरेका थिए। लाइट, एमसीबी, स्वीच बोर्ड लगायतका सामग्री नष्ट गरिनुका साथै पोलमा जडान गरिएका तारसमेत काटिएको थियो। यसबाहेक केही स्थानमा जडान गरिएका ब्याट्री र इन्भर्टर समेत चोरी भएको थियो। 

जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले ट्राफिक लाइटहरू बन्द हुँदा सवारी व्यवस्थापनमा थप दबाब परेको बताए। उनका अनुसार सबै लाइट मर्मत गरी चाँडै सञ्चालनमा ल्याउन महानगरपालिका र प्रदेश सरकारसँग समन्वय भइरहेको छ। आवश्यक उपकरणहरू मगाउने प्रक्रिया अघि बढिसकेको र करिब दुई हप्ताभित्र सबै लाइट पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको उनले जानकारी दिए।