इटहरी । भोजपुरको अरुण गाउँपालिका रानीटारका किसानहरू यतिबेला गहिरो चिन्तामा छन् ।

व्यावसायिक बेमौसमी अकबरे खुर्सानी खेतीबाट आर्थिक समृद्धि खोजिरहेका यहाँका किसानको बगानमा अज्ञात रोग र किराको प्रकोप देखिएपछि लाखौँको लगानी जोखिममा परेको छ । १४४ रोपनी क्षेत्रफलमा फैलिएको खुर्सानी बोटमै कुहिन थालेपछि किसानहरूले ठुलो क्षति बेहोर्नुपरेको छ ।

भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ६, रानीटार । जहाँका किसानले परम्परागत खेतीलाई थाती राखेर व्यावसायिक बेमौसमी अकबरे खुर्सानी खेतीमा भविष्य खोजेका थिए । तर, अहिले तिनै किसानका बारीमा खुर्सानीका बोटहरू रोगले ग्रस्त छन् । फल लाग्ने र बजार पठाउने बेलामा डढुवा लाग्ने, बोटमै खुर्सानी कुहिने र पात कुप्रिने समस्याले सिंगो बगान नै सखाप पार्न थालेको छ ।

रामबहादुर थापा, देवेन्द्र खड्का, डिल्लीराम कार्की र निर्मल बोहरा सहितको समूहले रानीटार, जवरेबारी र छिमेकी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिका गरी कुल १४४ रोपनी जग्गामा सामूहिक खेती सुरु गरेका थिए । ३० लाख रुपैयाँ खर्चेर सिँचाइ र आधुनिक प्रविधि अपनाए पनि अहिले अज्ञात रोगका अगाडि विषादीले समेत काम गर्न छाडेको छ ।

सम्बन्धित निकायबाट प्रभावकारी प्राविधिक सहयोग नपाउँदा किसानहरू थप मर्माहत भएका छन्। बेलैमा रोगको पहिचान र उपचार हुन नसके भोजपुरमा व्यावसायिक खुर्सानी खेती गर्ने किसानको आकर्षण मात्र घट्ने छैन, यसले जिल्लाकै कृषि अर्थतन्त्रमा ठुलो संकट निम्त्याउने देखिएको छ ।